काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
बैंकको नाफा वृद्धिसँगै वितरणयोग्य मुनाफासमेत २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी २० रुपैयाँ ८७ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन आम्दानी ८ अर्ब ६० करोड रुपैयाँबाट बढेर ९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा पनि ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा पुगेको छ।
१५ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने घटेको छ। गत आर्थिक वर्षको ३.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशतमा झरेको बैंकले जनाएको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सानिमा बैंक चालु आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।


