काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ। १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ। फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ।
‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो।
हिजो आइतबार पनि चलचित्रको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो। यो चलचित्रले आगामी दिनमा अझै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ।
हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ। ‘लालीबजार’ पहिलो स्थानमा छ। ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित देखिएको छ।







