काठमाडौँ: चलचित्र ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ। देशभरका शो हाउसफूल छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ।
प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन्।
यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ।


