काठमाडौं: नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस) ले असार महिनामा मात्रै १२ खर्ब रुपैयाँभन्दा बढीको रियल–टाइम डिजिटल कारोबार फर्छ्यौट गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार यो उपलब्धिले नेपालको डिजिटल भुक्तानी प्रणालीप्रति बढ्दो विश्वास र रियल–टाइम भुक्तानी पूर्वाधारको विस्तारलाई संकेत गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा आरपीएसमार्फत कुल ९३ खर्ब रुपैयाँ बराबरका रियल–टाइम कारोबार फर्छ्यौट भएका छन्। कम्पनीका अनुसार यो रकम सोही अवधिमा चेकमार्फत भएका कुल कारोबारभन्दा उल्लेख्य रूपमा बढी हो।
एनसीएचएलले नोभेम्बर २०२१ देखि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आरपीएस सञ्चालन गर्दै आएको छ। साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको यस प्रणालीले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र सरकारी निकायबीच सुरक्षित तथा रियल–टाइम भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ।
हाल आरपीएसमार्फत बैंक खाताबीचको तत्काल रकम स्थानान्तरण, नेपालपे क्यूआर भुक्तानी, मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट हुने भुक्तानी, अनलाइन मर्चेन्ट पेमेन्ट, बिल भुक्तानीलगायतका विभिन्न डिजिटल भुक्तानी सेवा सञ्चालन भइरहेका छन्।
एनसीएचएलका अनुसार एउटै साझा पूर्वाधारमार्फत विभिन्न भुक्तानी प्रणालीलाई एकीकृत गर्दा वित्तीय प्रणालीमा अन्तरआवद्धता बढ्नुका साथै डिजिटल नवप्रवर्तनलाई समेत टेवा पुगेको छ। कम्पनीले आरपीएसलाई नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने महत्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रूपमा विकास गर्दै लगिएको जनाएको छ।


