काठमाडौँ: ज्योति विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्ड सेवा सुरु गर्न सम्झौता भएको छ। ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, बैंकले डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू र भारतीय ‘रु पे’ कार्डहरू समेत अक्वायर गरी कारोबार प्रक्रिया अघि बढाउन सक्नेछ। एनसीएचएलको इएफटी स्वीच नेसनल कार्ड स्वीचसँग इन्टिग्रेट भइसकेकाले अब बैंकका ग्राहकले नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत यी कार्डहरू प्रयोग गर्न पाउनेछन्।
एनसीएचएलले डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने गरी रोलआउट गरिसकेको छ। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू नेपालपे नेटवर्कमा आवद्ध भइसकेका छन् भने ८ वटा बैंकले कार्ड जारी गर्न र ११ भन्दा बढीले अक्वायरिङ्ग सेवा सुरु गरिसकेका छन्।


