काठमाडौं– हाल देशमा मनसुनी वायुका साथै भारत उत्तर प्रदेश वरपरको न्यून चापीय प्रणालीको प्रभाव देखिएकाले अधिकांश स्थानमा झरी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि अदलीबदली रही कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। राती अधिकांश भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
ठूलो झरीले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। भारी वर्षा र मेघ–गर्जन/चट्याङका कारण हुन सक्ने बाढीपहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले नागरिकलाई आग्रह गरेको छ।


