काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा निरन्तर घट्दै गएको छ।
यता जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।
त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा बढेर १७.५ प्रतिशत पुगेको छ। जलविद्युत कम्पनीको हिस्सा बढ्दै गएको छ। एक वर्षयता कम जलविद्युत कम्पनीहरुले साधारण सेयर (आईपीओ) जारी गर्न स्वीकृति कम पाएकाले बजार पुँजीकरण बढ्न सकेको छैन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ३४ कम्पनीले १७ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न निवेदन दिएका छन्। ‘रियल नेटवर्थ’को कारण देखाउँदै सेबोनले जलविद्युत कम्पनीहरुलाई आईपीओ जारी गर्न अनुमति दिएको छैन्।
नेप्सेका अनुसार लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ।
एक दशकअघिसम्म धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको हिस्सा ७१ प्रतिशत माथि थियो। जलविद्युत कम्पनीहरुको न्यून थियो। जलविद्युत कम्पनीहरुले १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने वाध्यकारी व्यवस्थाका कारण बजार पुँजीकरण हिस्सा बढ्दै गएको हो।
२०८३ जेठमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९७ रहेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्।
१०५ जलविद्युत् कम्पनी, २९ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन्।२०८२ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थिया ।
सेबोनको तथ्यांकअनुसार पाइपलाइनमा रहेका १०४ कम्पनीमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रका ३० कम्पनीले ३५ अर्ब ३५ करोड, जलविद्युत क्षेत्रका ३४ कम्पनीले १७ अर्ब ५० करोड, होटेल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड, अन्य व्यवसायका १४ कम्पनीले ५ अर्ब ९० करोड, ५ लगानी कम्पनीले ३ अर्ब ४१ करोड तथा ३ माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति मागेका छन्।
