काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेल सुरु भएको छ। खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ब्याटिङ सुरु गरेको हो।
टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेपछि नेपाल ब्याटिङ सम्हाल्न थालेको हो। नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे सुरु भएको हो।
सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ। नेपाल पराजित भए समूह चरणबाटै बाहिरिने छ। हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडीआई खेल भएको छ। २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स दुवै निकै बलिया टिम हुन्। जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ। त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन्।
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन्। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ। नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।
यसअघि नेपाल र नेदरल्यान्ड्को खेल दुई खेलको सिरिजको समयमा भएको थियो। पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो। यो भेट नेपालका लागि ऐतिहासिक रहेको थियो किनभने यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो। नेपालले एक दिवसीयमा डेब्यु खेल नै नेदरल्यान्ड्सविरुद्ध खेलेको हो। तर, सो ऐतिहासिक खेल नेपालले गुमाएको थियो। उक्त खेलमा नेपालले ५५ रनको हार बेहोरेको थियो।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी


