काठमाडौं। सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षमा विद्युत प्राधिकरणको खुदनाफा घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।
विदेशी विनिमय दर वृद्धिका कारण संस्थाले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशत वृद्धि भई ११ अर्ब ५१ करोड पुगेको छ।
यस्तै ह्रास कट्टी तथा ब्याज खर्चमा भएको वृद्धि, इम्पेयरमेन्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्था समेतका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुदनाफा घटेको प्राधिकरणले जनाएको छ।
यद्यपि, कूल नाफा १३.१७ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षमा विद्युत प्राधिकरणले ३१ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको छ।
समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत चुहावटको न्यूनिकरण, विद्युत निर्यातमा भएको वृद्धि समेतका कारण कुल नाफा गत वर्षको वृद्धि भएको विद्युत प्राधिकरणले जनाएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा प्राधिकरणले विद्युत बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ। जसमध्ये विद्युत बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत वृद्धि भई १ खर्ब ४८ अब ६२ करोड रुपैयाँ पुगेको छ।
निर्माणाधीन पुँजीगत कार्यमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ। यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख पुँजीकरण भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशत वृद्धि भई ७ खर्ब ७१ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा अवकाश कोषको कुल मौज्दात १० अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेकोमा सो रकम सरकारको निर्देशन र प्रचलित कानून बमोजिम अवकाश कोष सञ्चालन गर्ने निकायमा हस्तान्तरण गरिएको जानकारी प्राधिकरणले दिएको छ।
सरकारी अनुदान, सडकबत्ती बक्यौता र डेडिकेटेड तथा ट्रक लाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४४ दिन रहेको छ।
५ एम्पियरका करिव २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई कुल २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत प्राधिकरणले निःशुल्क उपलब्ध गराएको छ।
प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.६८ रुपैयाँ छ। प्रति ग्राहक औसत बिक्री १.९७८ युनिटबाट वृद्धि भई २ हजार ८८ युनिट पुगेको छ। अनलाइन भुक्तानीमार्फत महसुल संकलन ३४ अर्ब ३३ करोडबाट वृद्धि भई ४० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।


