काठमाडौँ: आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरणसम्बन्धी सहकार्य सम्झौता गरेको छ।
सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै उत्पादन गरेको ‘न्यानो नानी’ उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ। पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान बेबी वार्मर हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
समय नपुगी वा कम तौलमा जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउने यो उपकरण विशेषगरी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाका लागि उपयोगी हुने कम्पनीको विश्वास छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो भने देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरिएको ‘न्यानो नानी’ कार्यक्रमलाई आगामी दिनमा अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना रहेको बताए।


