काठमाडौँ: गएको साउन १ गतेदेखि प्रदर्शनरत चलचित्र गौँथलीले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्दै सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थान सुरक्षित गरेको छ।
प्रदर्शनको एक महिना नपुग्दै २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको गौँथलीले कबड्डी ४ को रेकर्ड उछिनेको हो। कबड्डी ४ ले २१ करोड ४० लाख रुपैयाँ कमाएको थियो।
चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार साउन ३१ गते रातिसम्म गौँथलीका ८ लाख ५५ हजार ७५२ टिकट बिक्री भएका छन्। त्यसपछिका दुई दिनको रिपोर्ट आउन बाँकी छ।
गौँथलीले पहिलो २४ दिनमा १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ कमाएको थियो। त्यसपछिको सात दिनमै थप ३ करोड ८४ लाख रुपैयाँभन्दा बढी कमाउँदै फिल्मले २३ करोडको आँकडा पार गरेको हो।
अब नेपाली फिल्मको घरेलु बक्स अफिसमा गौँथलीभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी मात्रै छ। पूर्णबहादुरको सारङ्गीले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ। गौँथलीलाई सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान आफ्नो नाममा पार्न अब २३ करोड ३२ लाख २८ हजार ४९८ रुपैयाँ थप कमाउनुपर्नेछ।
तर यो दूरी तय गर्नु गौँथलीका लागि ठूलो चुनौती हो। पूर्णबहादुरको सारङ्गीले प्रदर्शनको २४ दिनमै ४३ करोड ४० लाख रुपैयाँ कमाइसकेको थियो। त्यसपछि २८ दिनसम्ममा यसको कमाइ ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ पुगेको थियो।
रोचक के छ भने पूर्णबहादुरको सारङ्गीले सर्वाधिक कमाउने नेपाली फिल्मको तत्कालिन रेकर्ड प्रदर्शनको १३औँ दिनमै बनाएको थियो। त्यतिबेला फिल्मले २५ करोड ४ लाख रुपैयाँ कमाउँदै कबड्डी ४ को रेकर्ड तोडेको थियो।


