काठमाडौँ- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयलाई शुल्क विवरण पेस गर्ने निर्देशन जारी गरेको छ। महानगरले आइतबार विज्ञप्ति जारी गर्दै कक्षा ११-१२ सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई यस्तो निर्देशन जारी गरेको हो।
आगामी आर्थिक वर्षमा लिइने शुल्कको विवरण पेस गर्न महानगरले सबै निजी विद्यालयलाई भनेको हो। यसरी प्रस्तावित शुल्कको विवरण पेस गर्न असारभरको म्याद दिइएको छ।
‘संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र यस विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध छ,’ महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयले असारको तेस्रो साता माध्यमिक शिक्षा परीक्षा (सीईई)को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ। यता राजधानीका अधिकांश निजी विद्यालयले भने त्यसअघि नै भर्ना अभियान चलाइरहेका छन्।
भर्ना अभियान अन्तर्गत नै राजधानीका निजी विद्यालयले शिक्षा मेला चलाएपछि महानगरका मेयर बालेन्द्र साहले रोक्नका लागि निर्देशन दिएका थिए। तर त्यसविरुद्ध शिक्षा व्यवसायीहरूले अदालत पुगेका थिए। अदालतको आदेश अनुसार चार दिन चलेको मेला आइतबार समापन भएको छ।



