काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्।
‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ उनले भने।
१८ औं शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा ‘दुनियाँले के भन्छ’ भन्ने नसोची ‘तिमी आफू आफ्नो उदेश्यमा अगाडि बढ’ भनेको उनले स्मरण गरेका थिए। उनले दुनियाँले के भन्छ भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको बताए।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफुले राम्रो गरेको भएपनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो।
आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताको पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे।


