काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश समितिले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहलकदमी लिइदिन पार्टीको केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ। आइतबार बसेको प्रदेश समितिको पदाधिकारी बैठकले कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार गठन गर्न भूमिका खेलिदिन आग्रह गर्ने निर्णय गरेको हो।
शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले प्रयत्न थालेका छन्। कोशी प्रदेशको मूख्यमन्त्रीमा कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरिरहेका छन्। केन्द्रमा पनि कांग्रेस, माओवादी लगायतका दलहरुको संयुक्त सरकार छ। सोही कारण कांग्रेस कोशीले गठबन्धनका दलहरुकाबीचमा कांग्रेस नेतृत्वको सरकार गठनको वातावरण बनाउने केन्द्रीय नेतृत्वले भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो।
‘पदाधिकारी बैठकले केन्द्रीय नेतृत्वलाई प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन गर्न पहलकदमी लिइदिन आग्रह गर्ने निर्णय गरेको छ,’ कांग्रेस कोशी प्रदेश समितिका सहमहामन्त्री विनोद बस्नेतले भने, ‘गठबन्धनका अन्य दलसँग केन्द्रीय नेतृत्वले छलफल थालेर आफ्नै नेतृत्वमा सरकार गठनको वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ।’
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता उद्धव थापा आकांक्षी छन्। यस्तै माओवादी केन्द्रले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरिरहेको छ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले यसअघि नै थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ।


