काठमाडौं- ललिता निवास जग्गा प्रकरणका ६ जना आरोपी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका ६ जना आरोपीलाई पक्राउ गरेको हो।
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी र गोपाल कार्की पक्राउ परेका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतका अनुसार देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन्। कपाली सोही कार्यालयका कर्मचारी हुन्।
मंगलबार बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। गुरुङसँगै उक्त प्रकरणमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन। पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दा विचाराधीन छ।
सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो।


