अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा हुने उक्त भेटमा रूस–युक्रेन युद्धको तनाव कम गर्ने उपाय र वार्ता पुनः सुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ।

अक्सियोसका अनुसार युक्रेनका प्रमुख वार्ताकार तथा विदेश गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले ह्वाइट हाउसका प्रतिनिधिसँग समन्वय गरेर भेटको तयारी गरेका हुन्। यो भेट ट्रम्प र जेलेन्स्कीबीच हालै भएको टेलिफोन संवादपछि तय भएको हो। जेलेन्स्कीले उक्त संवादलाई महत्वपूर्ण भन्दै त्यसले कूटनीतिक गति सिर्जना गरेको बताएका छन्।

अक्सियोसका अनुसार टेलिफोन वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीलाई रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरिरहेका आक्रमण रोक्न पटक–पटक आग्रह गरेका थिए। ती आक्रमणले इन्धन आपूर्ति प्रभावित हुनुका साथै डिजेलको मूल्य बढेको विषय पनि वार्तामा उठेको बताइएको छ।

ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्ने विषय अमेरिकाको तनाव न्यूनीकरण प्रयासको महत्वपूर्ण पक्ष बनेको छ। जेलेन्स्कीले यसअघि रूसले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा आक्रमण नगर्ने ठोस प्रत्याभूति दिए युक्रेन पनि रूसी ऊर्जा संरचनामाथिका आक्रमण रोक्न तयार रहेको संकेत दिएका थिए।

जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरलाई किएभ पठाएकोमा ट्रम्पलाई धन्यवाद पनि दिएका छन्। उनीहरूले युक्रेनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको जेलेन्स्कीको भनाइ छ।

उनले शान्ति प्रक्रिया नै युक्रेनको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जा सुरक्षा, खाद्य सुरक्षा र मानव जीवनको संरक्षणसँग सम्बन्धित विषयमा छलफल भइरहेको बताएका छन्। न्यूयोर्कमा हुने भेट त्यतिबेला हुन लागेको हो, जतिबेला रूस र युक्रेनबीच लामो दूरीका आक्रमण जारी छन्। अमेरिकी अधिकारीहरूले व्यापक शान्ति वार्ता पुनः सुरु गर्नुअघि तत्काल तनाव कम गर्ने सम्भावित उपायबारे पनि अध्ययन गरिरहेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन विश्वभरका नेताहरू न्यूयोर्कमा भेला भइरहेका बेला युक्रेन युद्ध उच्चस्तरीय छलफलका प्रमुख एजेन्डामध्ये एक रहने अपेक्षा गरिएको छ। एएनआई