काठमाडौँ: ७९औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ खण्डमा औपचारिक रूपमा छनोट भएर जुरी पुरस्कार जितेको नेपाली चलचित्र ‘तिनीहरू : इलिफेन्ट्स इन द फग’ अहिले नेपालका हलमा दोस्रो सातामा प्रदर्शनरत छ। कान्सको उक्त खण्डमा जुरी पुरस्कार जित्ने यो पहिलो नेपाली फिचर फिल्म हो।
अन्तर्राष्ट्रिय फेस्टिभलमा चर्चा बटुलेको ‘तिनीहरू’लाई नेपालबाट ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि आधिकारिक रूपमा सिफारिस गरिएको छ।
‘तिनीहरू : इलिफेन्ट्स इन द फग’ किन्नर समुदायको जीवन, उनीहरूले भोग्ने सामाजिक विभेद र आफ्ना इच्छा–आकांक्षाबीचको संघर्षमा केन्द्रित चलचित्र हो। फिल्मले किन्नर समूहकी गुरुआमा र समूहकी एक सदस्य हराएपछि सुरु हुने खोजीमार्फत उनीहरूले समाजमा भोग्नुपरेका बहिष्कार, अपमान र अस्तित्वको संघर्षलाई प्रस्तुत गर्छ। साथै, मानिस र प्रकृतिबीचको सम्बन्ध तथा हात्तीको कथालाई पनि फिल्मले समानान्तर रूपमा अघि बढाएको छ।
बक्सअफिसतर्फ कान्स र ओस्कारको उपलब्धि हासिल गरेको ‘तिनीहरू’को कमाइ अहिले सूचीको पुछारमा छ। आइतबार राति ११ः५९ बजेसम्मको विवरणअनुसार चलचित्रले १ करोड १६ लाख ४५ हजार ९७० रुपैयाँ आम्दानी गरेको छ। यसको ३३ हजार १३६ टिकट बिक्री भएको छ।
‘गौँथली’ले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ आम्दानी गर्दै सबैभन्दा अगाडि रहेको छ। ‘पेन्सन पट्टा’ले ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ, ‘बेहुली’ले २ करोड ६८ लाख २८ हजार ५२९ रुपैयाँ र ‘पार्वती’ले २ करोड २४ लाख ३२ हजार ८८३ रुपैयाँ आम्दानी गरेका छन्।


