असोजको सुरूवातसँगै बजारमा दशैँमा खपत हुने वस्तुको व्यापारको समय आएको छ। खाद्यान्न, लत्ताकपडाबाहेक दशैँ–तिहराको समयमा उच्च माग हुने चङ्गा पनि बजारमा देखिन थालेका छन्।
विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न बजारमा रंगीचंगी चङ्गा, लट्टाई र धागो बिक्रीमा राखिएका छन्। मूल्य सोधपुछ गर्ने र खरिद गर्नेको चहलपहल चङ्गा पसलमा देखिन थालेको छ। दशैँको समयमा परिवार तथा साथीभाइसँग चङ्गा उडाउने पुरानो परम्परा रहेकाले यो समयमा चङ्गाको माग बढ्ने गरेको छ।
काठमाडौँ टेङ्गल चोकस्थित भुतमाली पस: (द काइट सप)का सञ्चालक विपीनराज वैद्यले दशैँ–तिहार नजिक आएसँगै आयात थालिएको र अब विस्तारै ग्राहकको माग बढ्ने बताए। दशैँ–तिहारमा यस वर्ष मौसम राम्रो हुने अपेक्षा रहेकाले बिक्री पनि राम्रो हुने उनको अपेक्षा छ। ‘चुनौती बजारका लागि छैन। मौसमले गर्दा चुनौती हुने गर्छ,’ २४ वर्षदेखि चङ्गा व्यापारमा संलग्न उनले थपे, ‘तीन वर्षमा एकपटक मलमासले गर्दा दशैँ पछाडि धकेलिने भएर नाफा राम्रो हुन्छ। पानी पर्दियो भने बिक्री भएपनि नाफा कम हुन्छ।’
नेपालमा मुख्यतः भारतबाट चङ्गा आयात हुन्छ। भारतको कलकत्ता, जयपुर, वनारस, बरेलीलगायत ठाउँबाट चङ्गा, धागो आयात हुने गरेको छ। ६ देखि १ हजार मिटरसम्मको धागो २ हजार ५ सय रुपैयाँसम्म पर्ने रहेको उनले बताए। सिजनको समयमा उपत्यकाबाहिर बुटवल, धरान, धनकुटा र अष्ट्रेलिया, अमेरिका, बेलायतसम्म चङ्गा पठाउने गरेको वैद्यले सुनाए। ‘व्यापार १२ महिना नै हुन्छ। अष्ट्रेलिया, अमेरिका, बेलायतसहित नेपाली रहेका देशमा पठाउँछु। बाटो बन्द भएर यो वर्ष ल्हासा जान पर्ने गएन,’ उनले भने। चराचुरुंगीलाई असर गर्ने भएकाले नाइलनको धागो बिक्री बन्द गरेको उनले सुनाए।
नेपालमा उत्पादन गरेर बिक्री गर्न सके भारतबाट ल्याइने चङ्गाभन्दा सस्तो पर्ने उनले बताए। मूल्य र बजारको अवस्थाले गर्दा नेपालमा उत्पादन हुन नसकेको उनको अनुमान छ। ‘अहिले थोरै उत्पादन हुन्छ त्यसले गर्दा मूल्य धेरै हुन्छ। त्यही उत्पादन यहीँ ठूलो प्रोडक्सन गर्न सके सस्तो पर्छ,’ उनले भने।
पछिल्लो समय मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनको प्रभाव बढ्दै गएपनि दशैँमा चङ्गा उडाउने संस्कृतिप्रतिको आकर्षण भने पूर्ण रूपमा घटेको छैन। दशैँको छुट्टीमा घरबाहिर निस्केर आकाशमा चङ्गा उडाउनु धेरैका लागि बाल्यकालको सम्झनासँग जोडिएको गतिविधि हो। दशैँको मुख्य दिन नजिकिँदै जाँदा चङ्गाको बिक्री अझ बढ्ने अपेक्षा व्यवसायीको छ।





















