काठमाडौँ: हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्टपे अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापछि हिमालयन बैंक एससीटीको स्मार्टपे सञ्जालमा आबद्ध भएको छ। यससँगै बैंकका ग्राहकले स्मार्टपे अन्तरबैंक रकम स्थानान्तरण सेवामार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।
एससीटीका अनुसार स्मार्टपे अन्तरबैंक रकम स्थानान्तरण सेवाले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। विभिन्न वित्तीय संस्थाबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँच विस्तार गर्न यस सेवाले सहयोग पुर्याउँदै आएको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारी संस्थालगायतलाई समेटेर विभिन्न डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ।
एससीटीले नेपालकै पहिलो स्वदेशी कार्ड एससीटी कार्डको सुरुवात गरेको जनाएको छ। कम्पनीले विभिन्न कार्ड, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ, स्मार्टक्यूआर र रकम स्थानान्तरण सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।


