काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज (सामबार) ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको ‘निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकमबराबरको तरलता प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणका लागि बोलकबोल आज (असोज १२ गते) दिउँसो ३ बजेसम्म हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोल पेस गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको निष्कासन आजै असोज १२ गते हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक ११ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा १० करोड रुपैयाँका दरले निःशेष भाग जाने गरी कुल ३० अर्ब रुपैयाँसम्मको बोल पेस गर्न सक्नेछन्। बोलकबोल बहु–ब्याजदरमा समेत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले पछिल्लो समय निरन्तर तरलता प्रशोचन गर्दै आएको छ। एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत केन्द्रीय बैंकले ४ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ। त्यसैगरी, निक्षेप संकलन उपकरणको बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत पनि तरलता प्रशोचन गर्दै आएको छ।
राष्ट्र बैंकको असोज ९ गतेसम्मको तथ्यांकअनुसार १३ खर्ब ३० अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको रकम केन्द्रीय बैंकमा मौज्दात रहेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा ब्याजदरमा दबाब पर्ने तथा कर्जाको माग र प्रवाहमा समेत प्रभाव पर्न सक्ने भएकाले केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका विभिन्न उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्दै आएको


