काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सङ्ग्रह बिमोचन गरिएको हो।
साहित्यकार तथा समीक्षक राधिका कल्पित र अनिता कोइरालाले कृति विश्लेषणसमेत गरेका थिए। उनीहरूले कवितामा व्यक्त संवेदना, प्रकृति र मानवीय मनोविज्ञानका विभिन्न पक्षबारे चर्चा गरेका थिए।
कविता सङ्ग्रहमा मानवीय संवेदना, प्रकृति, एकान्त, जीवनका अनुभूति तथा सामाजिक परिवेशलाई कवितामार्फत अभिव्यक्त गरिएको बताइएको छ। लामो समयपछि नयाँ कृतिसहित पाठकमाझ आएका मौन आवाजको यस सङ्ग्रहले उनको साहित्यिक यात्रालाई थप अगाडि बढाउने अपेक्षा गरिएको कार्यक्रममा सहभागी साहित्यकार तथा समीक्षकहरूले बताएका थिए।
कार्यक्रममा संस्कृति अध्येता भीमनारायण श्रेष्ठको ‘नेवाः लोकसंस्कृति’ किताब पनि बिमोचन गरिएको थियो। ‘नेवाः लोकसंस्कृति’ मा नेवा: समुदायको लोकजीवन, संस्कृति र परम्परासँग सम्बन्धित विषय समेटिएको छ।




