बुटवल: जगदम्बा मोटर्स प्रालिले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स जीपी रेसिङ क्वालिफायर्सबाट १६० सीसी वर्गका तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।
तिलोत्तमा–५, कफी कम्पनी, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा सम्पन्न क्वालिफायर्समा ७६ जना राइडर सहभागी भएका थिए। बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
क्वालिफायर्समा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने। अभिषेक पन्थी ३४.६२ सेकेन्डमा प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डमा द्वितीय उपविजेता बने। उनीहरूले ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रममा सहभागी राइडरलाई पूर्व विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो।
प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी सबै राइडरलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट तीन राइडरलाई मञ्चमा सम्मान गरिएको थियो।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा ७६ जनाको सहभागिताले मोटरस्पोर्ट्सप्रतिको बढ्दो आकर्षण देखाएको बताए। उनले राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर नयाँ राइडरहरूले ट्र्याकमा प्रतिस्पर्धा गर्ने अवसर पाएको उल्लेख गर्दै बुटवलका तीन फाइनलिस्टले आगामी प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
ग्रान्ड फिनालेमा बुटवलसँगै काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराबाट छनोट भएका राइडरबीच प्रतिस्पर्धा हुनेछ। ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर रहनेछ। यात्रा तथा आवासको खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने जनाइएको छ।


