काठमाडौँः लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
बोर्डको ६८औँ बैठकले ५८।९ मेगावाटको नार खोला जलविद्युत् आयोजनामा १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाटको सानी भेरी–३ आयोजनामा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो।
बैठकले ९०० मेगावाटको अरुण–३ आयोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य अघि बढाउने निर्णय गरेको छ। त्यस्तै, ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना परियोजना विकास सम्झौताअनुसार तत्काल निर्माण अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
बोर्डले स्वीकृत आयोजनाको कार्यान्वयन सहज बनाउन प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।




