काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले जानकारी दिए। दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी लितिपुरको मेडिसिटी अस्पताल पुर्‍याइएको उनले बताए। पटेलसँग भारतीय राहदानी रहेको र उनी न्युजिल्यान्डका नागरिक भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न हेलिकप्टरका पाइलटहरू भने सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए।

दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।