काठमाडौँ- मनसुनी वर्षा सुरु भएसँगै देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन्। देशका अधिकांश स्थानबाट राजधानी काठमाडौँ जोड्नु मुख्य सडक नारायणगढ–मुग्लिन पुनः अवरुद्ध छ।
नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आज बिहान ३:१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो। पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन्। पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
सिद्धार्थ राजमार्ग पनि खस्यो पहिरो
यस्तै दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ। यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो। वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ। सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए।
कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए। यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ। रामपुर जोड्ने सडक निस्दी–५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ। सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन्।
बेनी–जोमसोम सडक अवरुद्ध
जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताए। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ। बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए। आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए।
पहिराले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ।
जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए। पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए।
नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्। पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ।
यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ। कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए।
जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए।
पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए। सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन्।
मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध
दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।
भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक ठाउँ ठाउँमा अवरुद्ध बनेको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन्।
मन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि पाँचथरको फिदिम पुगेका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सरोकारवाला निकायलाई निर्देशन दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उनले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे।
‘राहत, क्षतिपूर्ति र पुनःनिर्माणको काम नियमित काम जस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन’, मन्त्री ज्वालाले भने, ‘अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ।’
बाढीपहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन तथा स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिए। यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उनले सुरक्षा निकायलाई निर्देशन दिए।
यही असार २ गते आएको बाढीले क्षति पुर्याएका मेची राजमार्ग, तमोर करिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वालासहितको टोली यहाँ आएको हो। उनले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए। उनले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अघि बढाइने पनि बताए।
बाढीले बगाएको तमोर करिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकिन गरेर कार्य थालिने बताए।
सो क्रममा पाँचथरका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नुपरेको जनाउँदै पुनःनिर्माण चाँडो अघि बढ्नुपर्ने बताए।
‘फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडकमा पुल बग्दा नागरिकलाई सास्ती छ, सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ’, उनले भने, ‘घरबार, खेतीपाती, जग्गा, जमिन, पशुपक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु।’
मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्वाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेललगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायका अधिकारी सहभागी थिए। मन्त्री ज्वालाको टोलीले आज र आइतबार यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए।


