काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ललिता निवासको सरकारी जग्गा संरक्षण गर्ने बताएको छ। यसका लागि नापजाँचलगायतका काम सम्पन्न गरेर घेरबार गर्ने तयारी काठमाडौँ महानगरले गरेको छ।
‘ललिता निवासकको सार्वजनिक जग्गा संरक्षण गर्न महानगर लागिसकेको छ। हामी त्यस दिशामा केन्द्रित भएका छौँ,’ काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डेले भने, ‘हामीले प्रक्रिया अघि बढाइसक्यौँ। सार्वजनिक जग्गा संरक्षण नगरी महानगर मूकदर्शक भएर बस्दैन। अब काम अघि बढिसक्यो।’
आइतबार नापजाँच गर्नका लागि पाण्डे नेतृत्वको टोली दिउँसो साढे २ बजे ललिता निवास तर्फ लाग्दैछ। त्यहाँ बनिरहेका संरचनालाई निर्माणकार्य रोक्ने र घेरबार गरिने पाण्डेले जानकारी दिए।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको देखिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। प्रहरीले गरेको अनुसन्धानका क्रममा दोषी देखिएपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत ७ जना पक्राउ परेपनि तीन जना भने अदालतको स्टे अर्डरका कारण रिहा भएका छन्। गुरुङ र परिवारका नाममा मात्र २९ रोपनी सरकारी जग्गा नामसारी भएको पाइएको सीआईबीले जानकारी दिएको छ।


