काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको एमालेले प्रधामन्त्री दाहालको राजीनामा मागेको हो।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति स्वीकार्य नभएको नभएको एमालेको भनाइ छ।
बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको राजिनामा मागेका हुन्। ‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ। भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं,’ उनले भने।
नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।


