काठमाडौं– आज पार्टी मुख्यालय सानेपामा कांग्रेसका जिल्ला सभापतिहरूको बैठक दिउँसो १२ बजे बस्दै छ। महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं निम्त्याएका हुन्।
कांग्रेसले बैठकमा आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरेको छ।
वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन भनिएको छ। जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत छलफलमा सहभागिता जनाउन सकिनेछ।
दुई दिनसम्म सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री थापाले बताए। बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुनेछ।
क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषयमाथि छलफल हुने बताइएको छ।


