काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा निष्काशन गरेको हो।
सर्वसाधारणले न्यूनतम १० र अधिकतम १० हजार किक्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ। कुल ९६ लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले असार २५ गतेसम्म आइपीओ भर्ने आवेदन तोकेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ। सो अवधिसम्म प्रतिसेयर आम्दानी ९ रुपैयाँ २१ पैसा तथा सञ्चित नाफा १ अर्ब २६ करोड रुपैयाँ बराबर रहेको विवरणपत्रमा उल्लेख छ।
केयर नेपालले कम्पनीलाई ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ। यसले आफ्नो दायित्व पूरा गर्न कम्पनी सफल रहेको, मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ। केयर नेपालले सबैभन्दा उत्कृष्ट कम्पनीलाई ‘एएए’ रेटिङ प्रदान गर्छ भने कमजोर कम्पनीलाई ‘डी’ रेटिङ प्रदान गर्दछ।


