काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलियो बनाउने गरी गत ४ असारमा जन्मिएको समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ। मोर्चा घोषणाको १९ दिनपछि बेलुकी ४ बजे नेकपा एसको मुख्यालय तीनकुनेमा बैठक बस्न लागेको हो।
नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको हो। राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका चार दलमध्ये जसपाले एउटै दल बन्न इन्कार गरेपछि समाजवादी मोर्चाको दिगोपनलाई लिएर प्रश्न उब्जिएको छ।
बैठकमा समाजवादी मोर्चा गठनको औचित्य, सरकारका काम–कारबाही, कांग्रेसले मोर्चा गठनमा जनाएको असन्तुष्टि, पछिल्लो समयको राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बुझिएको छ। मोर्चामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन्।


