काठमाडौं– कोसीमा सरकार गठनका लागि संख्या जुटाउन प्रदेश सभामुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री बनेपछि त्यसविरुद्ध एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ।
कार्कीले सरकार गठन÷विघटनमा तटस्थ हुनुपर्ने सभामुखको हस्ताक्षरबाट मुख्यमन्त्री बनेका थापालाई अवैधानिक करार गरेर प्रदेश सरकारमा ठूलो दलको हैसियतामा आफूलाई मुख्यमन्त्री बनाउन वारेशमार्फत गत शुक्रबार सर्वोच्चमा रिट हालेका थिए। कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री र सभामुख गौतमलाई विपक्षी बनाइएको छ।
कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीत कार्य भएको दाबी गरेका छन्। निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका थिए।
संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। चार दलको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले बहुमत नपुगेपछि माओवादी कोटाका सभामुख गौतमको हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।
यता, सर्वोच्चमा रिट निवेदनमाथि फैसला हुने दिन कोसीका मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादीका जीवन आचार्यलाई आर्थिक मामिलामन्त्री बनाइएको छ। आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्।
माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कांग्रेसका प्रदीप सुनुवार र नेकपा एसका कमल जवेगुले मन्त्रीको सपथ लिएका थिए।


