काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। सत्ताधारी पार्टी नेपाली कांग्रेसकी नेतृ तथा सांसद आरजू राणा देउवाको नाम जोडेर करौडौँ रुपैयाँ बराबर रकमको डिल भएको अडियो बाहिरिएको केही समयमा सो अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।
शर्मालाई यसअघि नै प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ। प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका शर्माको भएको जानकारी दिएको हो। अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायले जनाएका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले गत वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। यसअघि शर्माको आवाज भएको जानकारी भए पनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ। तर पत्राचार गरिएको भए पनि अहिलेसम्म जवाफ नआएको डीआईजी कडायतले उल्लेख गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। तर आरजूले भने यो विषयलाई खण्डन गर्दै आइरहेकी छन्।

प्रहरी सँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए।
नक्कली भुटानी शरणार्थीको रुपमा अमेरिका जान भनेर रकम बुझाएका व्यक्ति (पीडितहरु)सँग कुराकानीका क्रममा शर्माले आरजुलाई समेत करोडौं रुपैयाँ बुझाइएकाले काम हुने भन्दै आश्वासन दिएको सुनिन्छ।


