काठमाडौँ- गायक दीपक खनाल र गायिका सुनीता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत ‘पुतली भुरुरु उड्यो’ सार्वजनिक भएको छ।
लोकदोहोरी विधाको गीतले युवकयुवतीबीच आपसीको आकर्षणका भाव र दृश्य देखाउन खोजेको छ। आपसमा माया बसिसकेको भए पनि खुलेर समाजमा देखाउन नसकेको अवस्थासमेतलाई चित्रण गर्न खोजिएको छ। आफ्नो प्रेम सफल पार्न प्रेम अंकुराएको ठाउँ छोडेर हिँड्न बाध्य प्रेमीहरूको अवस्था गीत र दृश्यमा देखाइएकाले उनीहरुको प्रेम संयोगान्त बनेको कुरा चित्रण गर्न खोजिएको गायक खनालले बताए।
प्रेममा परिसकेका युवक युवतीलाई विश्वासमा पार्न भन्छन्-
हिउँ पग्लेर पानी बन्यो, पानी बगी गंगा
कमल फुल्ने हिलैमा हो, म त तिमीसँग!
युवकको विश्वासमा परेकी युवतीले अरुलाई सुइँको नदिई ठाउँ छोड्न गरेको प्रस्तावलाई दुवैले स्वीकारेका छन्। युवती भन्छिन्-
दुनियाँलाई डाहा होला माया हामी दुईको
गाउँ छोडेर नेटै कटौँ नदिऔँ कोहीलाई सुइँको।
विष्णु खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा उषा उप्रेती र हरिश निरौला ‘कक्रोच’ले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्।
कमल सापकोटाको शब्दसंयोजन रहेको गीतमा विश्वास नेपालले संगीत भरेका हुन्।
भिडियो


