काठमाडौं– आजकै दिन पोहोर २७ असारमा कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो, सानेपा मुख्यालयमा। त्यसको १२ महिनापछि फेरि आज केन्द्रीय समिति बैठक बस्दै छ। लोकतन्त्रको मसिहा दाबी गर्ने कम्युनिस्ट सरकारको टेको सत्तारुढ कांग्रेसको अपूर्ण सांगठनिक स्वरुप र भ्रातृ संगठनका हाँगाहरु करिब–करिब खुइलिइसकेका बेला केन्द्रीय समिति बैठक बस्न लागेको हो।
अघिल्लो वर्ष साउनमा बसेको केन्द्रीय समिति बैठकपछि आज दिउँसो १ बजे कांग्रेसीहरु सानेपा मुख्यालयमा जमघट हुनेछन्। तीन–तीन महिनामा बस्नुपर्ने बैठक १२ महिनापछि आज बस्न लागेको हो। बैठकमा वर्ष दिनका पार्टी निर्णय अनुमोदन गराउनेदेखि भ्रातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारबारे छलफल हुने बताइएको छ।
लथालिंग कांग्रेसका भ्रातृ संगठन पनि लथालिंगै अवस्थामा छन्। १० मध्ये ९ वटा संगठनले वैधानिकता गुमाइसकेका छन्। केही दिनअघि मात्रै सभापति शेरबहादुर देउवाले पार्टी निकट तरुण दलमा चार सय सदस्य थपेका थिए। कांग्रेसकै निर्णयअनुसार नेविसंघ, तरुण दललगायतका १० भातृ संस्था विघटित अवस्थामा छन्। ३ फागुन २०७८ मा गते बसेको केन्द्रीय कार्यसम्पादन समिति निर्णयअनुसार १० वटा भ्रातृ संस्थाका तदर्थ समिति फागुन मसान्तभित्र पूर्णता दिनुपर्ने र तीनै तहका निर्वाचनको अन्तिम परिणाम आएको ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको थियो।
निर्वाचन परिणाम आएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्न नसके तदर्थ समिति स्वतः विघटित हुने निर्णय कांग्रेसको थियो। तर, अहिलेसम्म त्यसबारे कुनै निर्णय भएको छैन। सोमबार सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डाअनुसार कार्यसम्पादन समितिले गरेका निर्णय आज बस्ने बैठकमा अनुमोदन गरिनेछ। महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनबारे पनि बैठकमा छलफल बुझिएको छ। बैठकले सम्भवतः नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ।
कांग्रेसले गत वर्ष २७ असारदेखि २ साउनसम्म केन्द्रीय समिति बैठक गरेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक बसेकै छैन। १४ मंसिर २०७८ मा १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन। बैठकमा सरकारका काम–कारबाही, भ्रातृ संगठन विस्तारलगायत विषयमा छलफल हुनेछ।
केही दिनअघि मात्रै सरकार र पार्टीबीच समन्वय नहुँदा कांग्रेस थलिएको गुनासा ७७ वटै जिल्ला सभापतिको सानेपा भेलामा सुनिएका थिए। कांग्रेसमा २८ मध्ये प्रचार विभागले मात्रै पूर्णता पाएको छ। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। अझ केही केन्द्रीय सदस्य र कोषाध्यक्ष मनोनीत हुन बाँकी छ।
कांग्रेस नेता नैनसिंह महर सानेपा बैठकले पार्टीलाई सांगठनिक रुपमा ऊर्जा दिन सक्ने र भ्रातृ संगठनमा रहेको रिक्तताबारे ठोस निर्णय हुने अपेक्षा गरिएको बताउँछन्। उनले भने, ‘पोहोर असारपछि बल्ल आज केन्द्रीय समिति बैठक बस्न लागेको छ। बैठकले पार्टीभित्र देखिएका असन्तुष्टि, सरकारका कामकारबाही र भ्रातृ संगठनमा रिक्तताको अवस्थाबारे ठोस निर्णयमा पुग्नैपर्छ। कांग्रेसलाई सही दिशा दिन केन्द्रीय समिति बैठक फलदाय हुने अपेक्षा मात्रै हो।’


