काठमाडौँ- एक वर्ष पछि बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार अब साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको हो। प्रधानमन्त्री पत्नी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएपछि विभिन्न दलका नेताहरु परिवारमा समवेदना र मृतक सीताप्रति श्रद्धाञ्जली व्यक्त गर्न नर्भिक पुग्ने क्रम जारी छ।
कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक पुगिसकेका छन्। नेता तथा पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू पनि पुग्ने क्रम जारी छ। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सीताको पार्थिव शरीरलाई ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ। दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।
गत वर्ष पनि असार २७ गते कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो। त्यसको १२ महिनापछि फेरि आज केन्द्रीय समिति बैठक बस्न लागेको थियो। हरेक दुई महिनामा बस्नुपर्ने बैठकमा कार्यसम्पादन समितिका बैठकमा भएका निर्णय अनुमोदन गराउनेदेखि भ्रातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारबारे छलफल हुने बताइएको थियो। अब यिनै अजेन्डामा छलफल गर्न साउन २ गते बैठक बस्ने बताइएको छ।


