काठमाडौं – अखिल नेपाल कबड्डी संघको दोस्रो अधिवेशनबाट तुलसी थापाले अध्यक्षमा निरन्तरता पाएकी छन्। वि सं २०७३ सालमा भएको पहिलो अधिवेशबाट अध्यक्षमा चयन भएकी थापा गत मंगलबार सम्पन्न अधिवेशनबाट दोस्रो पटक पनि अध्यक्षमा चयन भएको संघले जानकारी दिएको छ।
थापाकै अध्यक्षतामा भएको यसअघिको समितिको समयावधि २०७७ सालको चैतमै गुज्रिसकेको भए पनि संघको अधिवेशन भएको थिएन्। ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम हाम्रो विधान नहुनाले अधिवेशन हुन सकेन। त्यसैले हामीले विधान परिवर्तन गर्नका लागि काम गरेका छौं,’ प्रशंगलाई प्रष्ट्याउँदै अध्यक्ष थापाले भनेकी छन्।
संघले समयमै अधिवेशन हुन नसक्नुको कारण कोभिड १९ को महामारी र ऐन संशोधनलाई मानेको विनोद प्रजापतिले प्रस्तुत गरेको प्रतिवेदनमा पनि उल्लेख छ। म्याद गुज्रिएपछि राखेपबाट पटक पटक म्याद थप गरि अहिले अधिवेशन भएको हो।
पछिल्लो समय कबड्डीले नयाँ विधान बनाएर ४२ जिल्लामा जिल्ला संघ र प्रदेशमा पनि संघ स्थापना गरेको जानकारी दिएको छ। साथै नव निर्वाचित संघले आगामी एक वर्षभित्रको कार्यक्रम पनि अघि सारेको छ। यसअघि निकै सुस्त रहेको र काम नगरको भनी आलोचना खेपेको संघले एक महिनाभित्रै कार्यालय व्यवस्थापनमा काम गर्ने योजना अघि ल्याएको थियो।

नयाँ कार्यसमितिको नामावली।
‘आजसम्म के कति काम गर्यौ त्यो जानकारी गराउनु पर्ने छ किनभने हामीले गरेको कामको प्रचार भएको देखिंदैन। साथै के काम गर्ने भन्ने जानकारी सहित खेललाई अगाडि बढाउन के गर्न सकिन्छ भन्ने सबैबाट सुझावको पनि आशा गरेका छौं,’ अध्यक्ष चयन भएपछि थापाले भनिन्।
कबड्डी संघसँग आफ्नै कार्यालय र प्रशिक्षण हल नहुँदा अहिलेसम्म काम गर्न र खेलाडीलाई प्रशिक्षण दिन असहज हुँदै आएको संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिएका थिए।
थापाले आफ्नै नेतृत्वमा भएको यो समितिले खेलाडीको जनजिवनलाई माथी उठाउनको लागि सहयोग गर्ने प्रतियोगिता अघि सार्ने दाबी गरेकी छन्। उनले भनिन्, ‘खेलाडी निरासमय जीवन विताउनु परिरहेको छ। बाँकी खेलका केही खेलाडीले जिविकोपार्जन गरेका छन्। तर हाम्रोमा त्यो भएन। तर खेलको लागि पूर्वधार कहिँ पनि छैन देशभरीमा दुईओटा कवर्डहल छन्। जुन काठमाडौंमा छैनन्। हामीले १३ औं साग खेलाउँदा नि अफ्ठेरो भो। त्यसैले काठमाडौंमा कवर्डहल बनाउने योजना छ। ठाउँहरूको खोजी गरेर राखेपमा पत्रचार गरेका छौं। नगरपालिकामा पनि पत्रचार गरेका छौं,’ थापाले आफ्नो कामको बयान गरेकी छन्।

संघले तर्जुमा गरेका योजनाहरूको तालिका।
बुधबार पत्रकार सम्मेलन मार्फत् संघले आफ्ना कुराहरु सार्वजनिक गर्दै संघको स्थापना कालदेखि अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिएको छ।
त्यस्तै, आगामी वर्षदेखि लिग गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने, एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षक ल्याउने र प्रशिक्षकलाई तालिम दिने योजना बनाएको छ जानकारी संघले नयाँ समितिले जानकारी दिएको हो। संघको आज बुधबार बसेको बैठकले यो निर्णय गरेको हो।


