पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ। यस अगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानीलाई सम्मान अर्पण गरिसकेको छ।
कहिल्यै नथाक्ने इन्द्रा
एथ्लेटिक्सकी इन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छिन्। ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रा अहिलेपनि त्यसैका लागि अहोरात्र खटिन्छिन्। महिला चुलोचौकामा सीमित हुने समयमा खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउने इन्द्रा त्यस समयकी ज्योति हुन्। घरबाट बाहिर निस्किदा कुरा काट्ने समयमापनि पुरुष सरह खेलेर गर्विलो इतिहास बनाएकी उनी खेलकुद क्षेत्रकी एक्ली बृहस्पति हुन् भन्दा फरक नपर्ला।
वि.सं.२०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व.टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी इन्द्रा सानैदेखि खेलकुदप्रति रुची राख्थिन्। लाहुरे बुबाका कारण भारतमै कक्षा ७ सम्म अध्ययन गरेकी उनी विद्यालय स्तरीय प्रतियोगिताहरुमा भाग लिइरहन्थिन्। कक्षा ८ अध्ययन गर्न भने उनी आफ्नो पुर्ख्यौली थलो स्याङ्जा पुतलीबजार फर्किइन् र त्यहींको कोल्मा वराह माविमा अध्ययन गर्न थालिन्। त्यहाँपनि उनी विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिताहरुमा भाग लिइरहन्थिन्।
इन्द्राको बुबा स्वर्गिय टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे। उनी बक्सिङका नामुद खेलाडी थिए। इन्द्राका बुबा मात्र होइन मामा यामबहादुर शाही पनि बक्सिङका खेलाडी थिए। तीनै बुबा र मामाको प्रेरणामा इन्द्राले क्याम्पस जीवनमापनि खेलकुदलाई निरन्तरता दिइन्। उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिसलगायतका खेलहरु खेल्थिन्।
तर विशेष रुची भने एथ्लेटिक्समै थियो। खास गरेर उनी एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सँधै प्रथम हुन्थिन्। पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन्।
जीवन नै खेलकुदका लागि समर्पित गरेकी इन्द्राले धेरैपटक खेलकुदका लागि त्याग गरेकी छन्। उनले खेलकुदकै लागि कहिले पढाई त्यागिन् त कहिले स्थायी जागिर। वि.स.२०५६ सालतिर इन्द्रा एमएड अध्ययन गरिरहेकी थिइन्। त्यही बेला उनलाई भारतमा नेसनल ईन्ष्टिच्यूट अफ स्पोर्टस् (एनआईएस)मा डिप्लोमा गर्ने अवसर आयो। पढाइ र खेलमध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोची खेलकुद रोजिन्।
त्यति मात्र होईन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ। २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो। तर यसमापनि उनले दोधार नभई खेलकुद नै रोजिन्।
खेलकुदमा लागेर उनले धेरै पाएकी छन्। नाम, दामसँगै इज्जत पनि पाएकी छन्। ‘इन्द्रा मल्ल कसैले चिन्छ भने त्यो खेलकुदले नै दिएको हो,’ उनी भन्छिन्।
खेलकुदबाहेक अर्को केही नसोचेकी उनलाई खेलकुदमा राजनीति भएर अवसरबाट बञ्चित गराइदा भने उनलाई दुःख लाग्छ।
जापानको टोकियोमा भएको ३औं ओलम्पिकमा उनी एथ्लेटिक्सको कोच बनेर जाने पक्का भयो। ओलम्पिक कमिटीले नाम पनि पठायो।
तर कोभिड जाँच्दा पोजिटिभ आयो। बिरामी नै नभएको उनको कोभिड पोजिटिभ आएपछि उनी तीनछक्क परिन्। त्यसपछि उनी फरक/फरक अस्पतालमा जाँच्न गइन्। तर त्यो अस्पतालबाहेक अन्य अस्पतालमा जचाउँदा कोभिड पोजिटिभ आएन। त्यही बहानामा उनलाई रोकेर अर्कैलाई ओलम्पिकमा पठाइयो। त्यसपछि मात्र षड्यन्त्रपूर्ण ढंगबाट रोकेको उनले चाल पाइन्। त्यसपछि भने उनलाई खेलकुदमा फर्किन मन लागेको थिएन। तर मन कहाँ मान्थ्यो र? खेलकुदलाई नै जीवन मानेकी उनी मनले नमान्दानमान्दै पनि खेलकुदमा फर्किइन्।
त्यस्ता उदाहरणहरु धेरै छन्। पदकको आशा गरेर प्रशिक्षण लिएकी उनले कति पटक त प्रतियोगितामै भाग लिन पाईनन्। तेश्रो साफका लागि उनी वाल्किङ १० किलोमिटरमा प्रथमहुँदै नेपालबाट छनौट भएकी थिईन्। तर दुर्भाग्य भन्नुपर्छ अन्तिम समयमा आएर सो स्पर्धा क्यान्सिल भयो। त्यही प्रतियोगिताका लागि भनेर झण्डै १० महिना प्रशिक्षण लिएकी उनी सहभागी हुन नपाएपछि निराश भइन्।
हुन त उनी १ हजार ५ सय मिटर, ३ हजार र १० हजार मिटरको दौडकी धाविकापनि हुन्। तर अफिसियलले उनलाई सो स्पर्धाका लागि लगेनन् बरु उनको सट्टा मेनुका राउतलाई लगियो। सानो दुरीकी धाविका मेनुकाले त्यसबेला ३ हजार मिटर दौडमा सिल्भर मेडल जितिन्। मेनुका भन्दा कयौं गुणा अब्बल उनी आफू भएको भए त्यसबेला त्यो भन्दा ठूलो मेडल जित्नसक्ने आंकलन गर्दै थकथकाउँछिन्।
आफ्नो समयकी उम्दा खेलाडी इन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरुपनि कायम गरेकी छन्। चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमापनि प्रथम स्थान हासिल गरिन्। ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोश्रो र तेश्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा गोल्ड मेडल जितेकी छन्। २६ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन्।
त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको १० किलोमिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीपको पाँच किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन्। त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी इन्द्राले द हिमालयन माउन्टेन बाईक च्याम्पीयनसीपमापनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराईन्। त्यतिमात्र होईन उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडीपनि हुन्।
खेलकुदमा जीवन समर्पित गर्दा विवाहबारे सोंच्नै भुलेकी इन्द्रा अहिले पोखरा–५ मालेपाटनमा बस्छिन्। खेलकुदसँगै विवाह भयो भन्ने गरेकी इन्द्रा दैनिक रुपमा ५ बजे उठ्छिन्। उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने उनी अहिलेपनि दैनिक रंगशाला पुग्छिन्। त्यहाँ चेलाचेलीलाई केहिबेर सिकाउँछिन् र आफ्नो फिटनेसका लागिपनि समय खर्चिन्छिन्। फुर्सद मिल्ने वित्तिकै रंगशाला आउने उनी बेलुका ४ बजेदेखि ६ बजेको समयपनि प्रायः रंगशालामै बिताउँछिन्।
अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ। त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ।
प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहनेछ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ। पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन्। प्रवर्द्धक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ।
यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप/आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन्। लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ। खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ।



