काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ।
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। क्रिकेटप्रेमीका लागि फ्यान जोनमा प्रवेश निःशुल्क रहने कम्पनीले जनाएको छ।
काठमाडौँका सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क तथा त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा फ्यान जोन सञ्चालन हुनेछन्।
उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस परिसर, जनकपुरको बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा पनि फ्यान जोन रहनेछन्।
फ्यान जोनमा खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि, खेलकुद कार्यक्रम तथा गिभअवे कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ।
रंगशालामा पुग्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा सामूहिक रूपमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले फ्यान जोन सञ्चालन गर्न लागिएको एक्सट्रीमले जनाएको छ।


