काठमाडौं– महामन्त्री गगन थापाले गिरिजाप्रसाद कोइराला कांग्रेस संसदीय दलको नेता हुँदा वर्तमान सभापति शेरबहादुर देउवाले संख्या जुटाएर नेता बनेकाले आफूले पनि सोही उपाय अपनाएर अगाडि बढिरहेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट महामन्त्री थापाले बहुमत पुग्ने अवस्था आउनासाथ संसदीय दलको नेता बदल्ने प्रयास पुनः गरिने बताएका हुन्।
शनिबार मोरङको विराटनगरमा पत्रकारसँग कुरा गर्दै थापाले यसअघि दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वाभाविकै भएको दाबी गरे।
‘कांग्रेस संसदीय दलको नेतामा लडेको मान्छेले बहुमत पुग्ने अवस्था आए पुनः प्रयास गर्ने हो। यसमा कोसिस निरन्तर छ। संख्या मात्र पुग्यो भने पुनः संसदीय दलको नेताका लागि प्रयास गर्छु। इयसलाई अन्यथा लिनुहुन्न,’ थापाले भने। आगामी २ साउनका लागि तय भएको केन्द्रीय समिति बैठक पार्टी सञ्चालन कार्ययोजना, कार्यतालिका र नीति महाधिवेशनको मिति तय गर्ने उनले बताए।


