नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।
परिवर्तन अभियान नेपालले आज काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताएका हुन्।
‘मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ, नयाँ तवरले अगाडि बढ्नुपर्छ,’ उनले भने। उनले आफ्नो रुचिअनुसारको विषय पढेमात्र सफलता हासिल हुने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रहसमेत गरे। उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको भन्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षा क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताए। हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव हुने उनको भनाइ छ । नगरप्रमुख महर्जनले पछिल्लो समय तारकेश्वरले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको उल्लेख गरे।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयबाट ‘जिपिए ४’ ल्याउने विद्यार्थी र त्यस क्षेत्रका झन्डै ९० विद्यालयलाई सम्मान गरिएको थियो । यसवर्ष तारकेश्वर नगरपालिकाबाट दुई हजार आठ परीक्षार्थी एसइई परीक्षामा सहभागी थिए ।


