काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको संगठन बिमस्टेक सदस्य राष्ट्रका समकक्षी मन्त्रीहरुको भेलामा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्डको बैंकक जाँदै छन्।
नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड बिमस्टेकका सदस्य राष्ट्र हुन्। थाइल्यान्ड हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो। बिमस्टेक स्थापनाको २५ वर्ष अवसरमा बैंककमा रिट्रिट बैठक आयोजना गरिएको हो।
बैठकमा बिमस्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन्। रिट्रिट बैठकमा क्षेत्रीय मुद्दामाथि छलफल हुने गर्छ। बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागिता जनाउन मन्त्री साउद नेतृत्वको प्रतिनिधिमण्डल आज बैंकक जान लागेको हो।
परराष्ट्रमन्त्रीसहितको टोली आज दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक उड्ने कार्यक्रम रहेको साउदको सचिवालयले बताएको छ।
साउद २ साउनमा स्वदेश फर्कनेछन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले साउद नेतृत्वको प्रतिनिधि मण्डललाई बैंककमा हुने बिमिस्टेक मन्त्रीहरुको रिट्रिटमा सहभागिता जनाउन भ्रमण अनुमति स्वीकृत गरेको थियो।


