रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीका दुई समूहले आफूमाथि अर्को पक्षले कुटाकुट गरेको आरोपप्रत्यारोपमा उत्रिएका छन्। पार्टीमा आन्तरिक विवाद चुलिँदै गएपछि एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै आरोपप्रत्यारोपमा उत्रिएको हो।
रास्वपा सैनामैनाका र्यापिड एक्सन टिमका संयोजक दामोदर खत्रीले आफूमाथि हातपात भएको दाबी गरेका छन्। शनिबार उनले पत्रकार सम्मेलन नै गरेर आफूमाथि अर्को समूहले कुटपिट गरेको जिकिर गरेका हुन्। आफ्नो आवाज दबाउनका लागि भौतिक आक्रमणमा उत्रिएको उनको भनाइ छ।
लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले आफूमाथि कुटपिट गरेको तर सोही समूह प्रहरीमा उजुरी लिएर पुगेको आरोप लगाएका छन्।
रास्वपा रूपन्देहीका संयोजक प्रकाश ज्ञवालीले भने दामोदर खत्रीले मनपरी काम गर्न थालेकाले कारबाही गरिएको बताएका छन्। पार्टीका विभिन्न तह र पदमा रहेका व्यक्तिहरूलाई मनपरी आरोप लगाउने र पार्टी अनुशासनहीन कार्य गर्दै आएकोले सदस्यबाट हटाइएको उनको भनाइ छ। खत्री आफैँले र्यापिड एक्सन टिम क्षेत्र नं. २ को संयोजक घोषणा गरेकोसमेत उनको दाबी छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एउटा समूहले मुद्दा दर्ता गर्न भन्दै निवेदन दिएकाले दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। इलाकाका अनुसार बिहान साढे ११ बजे दुवै पक्षका कुरा सुनेर पार्टीको विवाद के हो र प्रहरीले मिलाइदिनुपर्ने विषय के हो भनेर निर्क्योल गर्न सकिनेछ।


