काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ग्राउन्डेड भएको एक न्यारोबडी जहाजले नियमित उडान थाल्ने भएको छ। जहाज मर्मत गरी उडानयोग्य बनाइएको निमगले जानकारी दिएको हो।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू (सगरमाथा) जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो। यो जहाजले आजै साँझदेखि उडान थाल्नेछ।
जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो। ‘निगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इञ्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अर्को न्यारोबडी ९एन–एकेएक्स (लुम्बिनी) जहाजको पनि बायाँ इञ्जिनमा समस्या देखिएको छ। जहाजमा चरा ठोक्किँदा इञ्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए।
जहाजको बायाँ इञ्जिनको ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डडेड गरिएको र यथाशीघ्र इञ्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ। ६ साइकल उडानपश्चात् इञ्जिनको मर्मतमा जाने उडान (चार साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ।
नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए-३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इञ्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताए। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० गरी कूल चार वटा जहाज छन्।


