काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने तयारी गरेको छ। सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव राखेका हुन्।
उनको प्रस्ताव अनुसार एक वर्ष पछि मंगलबार बस्न लागेको केन्द्रीय समिति बैठक लाइभ हुनेसक्ने पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए। ‘भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो। शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘दुवै कुरा आएको छ। लाइभ गर्दा पनि हुन्छ भनिएको छ। अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ। भोलि गरौँ, हेरौँ भन्ने कुरा भयो। सायद भोलि सुरुमै लाइभ हुन्छ।’
पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भएको सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए। कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरे नेपाली राजनीतिमै नयाँ सुरुवात हुनेछ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलले आफ्ना बैठक लाइभ गरेका छैनन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समितिमा छलफलका लागि १० वटा एजेन्डा तयार गरेको छ।
यी हुन् एजेन्डाः
१. समसामयिक विषय (आर्थिक/परराष्ट्र/राजनीतिक)
२. सांगठनिक कार्ययोजना र कार्यतालिका
३. केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४. निर्वाचन परिचालन समितिको प्रतिवेदन
५. नीति अधिवेशन सम्बन्धमा
६. विभागहरू गठन, थप र कामको व्यख्या
७. राष्ट्रव्यापी अभियानको घोषणा
८. अनुशासन समितिको प्रतिवेदन पेस
९. संसदमा सम्पादन भएका कामहरूको प्रतिवेदन
१०. सरकारको गतिविधिबारे जानकारी


