काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बिहानसम्मका स्थगित भएको छ। मंगलबार एक वर्षपछि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नै सुरु नभई बैठक स्थगित भएको हो।
पार्टी सभापति शेरबहादुर देउवाले भोलि बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको घोषणा गरेका हुन्। केन्द्रीय सदस्यहरुलाई समयमै आइपुग्न पनि उनले भनेका छन्।
बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरे। अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरे।
आजको बैठकमा निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समिति संयोजक आनन्द ढुंगानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरे।
पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा पार्टीको प्रस्तुति र मन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे जानकारी गराएका थिए।
बैठकको पहिलो दिन आज केन्द्रीय सदस्यहरूले बोल्ने पालो पाएनन्। बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने बताइएको छ।


