काठमाडौँ– नेपाली कांग्रेसका नेता शंकर भण्डारीले धर्मनिरपेक्षता र संघीयताका विषयमा पुनर्विचार गर्न पर्ने बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता भण्डारीले यस्तो आग्रह गरेका हुन्।
‘संविधान धर्मनिरपेक्षताको कुरा छ। जुन सनातन धर्म मास्न ल्याइएको छ। त्यसलाई संशोधन गर्नुपर्छ,’ उनले भने, ‘संघीयताका विषयमा पनि पुनर्विचार गर्नुपर्छ। निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्न पर्छ।’
नेपालको संविधान सम्झौताको दस्तावेज भएकाले विवादस्पद व्यवस्थासहित जारी भएको उनको भनाइ थियो। विवादास्पद व्यवस्था भएकाले संविधान दिवस नमनाउन उनको भनाइ थियो। संविधान दिवस मनाउने विषयमा उनको आपत्ति थियो।
उनले केन्द्रीय समितिको छलफलको सान्दर्भिकता नभएको पनि बताए। ‘एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आइसक्यो। यसलाई पदाधिकारीले कसरी हेर्नुभएको छ,’ उनले भने, ‘यो समस्या हो कि होइन? क्रियाशील सदस्य अनुसारको भोट किन आउँदैन? किन त्यस्तो भइरहेको छैन। समधानको उपाय के हो?’


