काठमाडौँ- संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटालीका लागि प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड इटालीका लागि प्रस्थान गरेका हुन्।
विमानस्थलबाट उड्नुअघि उनलाई बिदाइ गरिएको थियो। बिदाइ समारोहमा राज्यका उच्चपदस्थ अधिकारी सहभागी भएका थिए।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम आगामी ८ देखि १० साउनसम्म आयोजना हुँदै छ। प्रधानमन्त्री प्रचण्ड आगामी ८ साउनमा कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुनेछन्।
यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नेछन्।
खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्ने परराष्ट्रको भनाइ छ। नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ।
यस्तै, प्रधानमन्त्री प्रचण्ड रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामासहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहनेछ।
प्रचण्ड १३ साउनमा स्वदेश फर्कनेछन्।

















