काठमाडौं– नेपालमा प्रजातन्त्रका लागि नेपाली कांग्रेससँगै मिलेर संघर्ष गर्नुपर्ने धारणामा अडिग रहने कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सत्ता र शक्ति वरपर रहन दर्जनौं टुक्रामा विभाजित कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानलाई सम्झना गर्दै छन्।
१५ असार १९८१ मा रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाखा २००६ मा भारत कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।
नेकपा स्थापना गर्नुअघि उनले १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन्। व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे। अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो। उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन्।
सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए। पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो।
२०१७ को राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ। पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गर्दै छ। पुष्पलाल एकै भए पनि उनलाई सम्झिन नेपालमा सत्ता–लोभमा चिरा परेका कम्युनिस्टहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै छन्।
कुनै बेला बीपी कोइरालासँगै बनारस अध्ययनमा बसेका पुष्पलालले नेपालमा प्रजातन्त्र ल्याउन कांग्रेस–कम्युनिस्टबीच गठजोडमा जोड दिएको बीपीको आत्मवृत्तान्तमा उल्लेख छ। बीपीले पुष्पलालकै कारण आफू कुनै बेला कम्युनिस्ट विचारधाराबाट लोभिएकोसमेत बताएका छन्। बीपी र पुष्पलालबीच राजनीतिक र वैचारिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो थियो। यसको उदाहरण १० वर्षसम्म वीपी–पुष्पलाल प्रवासमा रहँदा एउटै कोठामा बसेका थिए। वीपीले पुष्पलाललाई कहिल्यै नराम्रो व्यवहार गरेनन्।
नेपालमा प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेका पुष्पलाललाई चीन, रुस र राजावादी कम्युनिस्टहरुले गद्दारसमेत घोषणा गरेका थिए, २०१९ मा। पुष्पलाल कम्युनिस्ट विचारधाराका भए पनि प्रजातन्त्रप्रति उनको अगाध आस्था थियो।


