काठमाडौं– कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबी गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आजदेखि पूर्ण इजलासबाट हुँदै छ। कांग्रेस संसदीय दलका नेता थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले गत २२ असारमा सर्वोच्चमा रिट दर्ता गराएका थिए।
सोमबार रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। न्यायाधीशद्वयले कोसी सरकार गठन विवादमा संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएपछि सर्वोच्चकै पूर्ण इजलासमा पठाउन आदेश दिएका हुन्।
आजदेखि सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ गर्नेछ। कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरिएकाले आदेशमार्फत मुख्यमन्त्री थापाको सरकारलाई अवैध घोषणा गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न रिट निवेदनमा माग गरेका छन्। यो मुद्दामा आजदेखि तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ। पूर्ण इजलास पनि आजै तोकिनेछ।
सर्वोच्चलाई कुनै मुद्दा जटिल लागे कानुनी प्रश्नको निरुपण पूर्ण इजलासमा पठाउन सक्ने कानुनी व्यवस्था छ। २१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले प्रदेश सभामुख गौतमको समर्थनसहितको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सोही दिन उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। २७ असारमा सर्वोच्चले दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गरेको थियो।


