काठमाडौं– इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशकी समकक्षी शेख हसिनाबीच द्विपक्षीय हित र चासोबारे छलफल भएको छ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी हसिनाबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। दुई नेताबीच राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा भेटवार्ता भएको हो।
उनीहरुबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो।
भेटमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो। त्यस्तै, बंगलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो।
बंगलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ। सन् २०४० सम्म ९ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ। प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण बनेको छ।


